Saturday, July 14, 2012

राज्यले भुलेका गीतकार

झण्डै आधा शताब्दी अगाडि एक स्रष्टाले देखेको सपना हो यो । जसले नेपाल आमालाई संसार कै राम्री बनाउने कल्पना गरेका थिए । आफनो मातृभूमि, कर्मभूमि, शान्तभूमिका दुई करोड सन्तानले नेपाल आमालाई सेवा गर्ने निस्वार्थ भावना यो गीतमा छताछुल्ल भएर पोखिएको छ । २०२२ सालमा नेपाल आमाको रुप राम्रो राम्रो छैन भन्ने महशुस गरेर लेखिएको र गाइएको यो गीत आज पनि सान्दर्भिक नै लाग्छ ।
राष्ट्र, राष्ट्रियता र मातृप्रेमको भावबाट ओतप्रोत भएको यो गीतका श्रष्टाले परिकल्पना गरेको सुन्दर नेपालको अर्थ त्यसबेला नेपालीहरुले भोगिरहेको दुःख कष्ट, रोग भोक र अभावले सिर्जना गरेका थिए । राष्ट्र भनेको भूगोल मात्रै भइदिएको भए नेपाली श्रृष्टाले यस्ता गीत कहिल्यै रच्दैनन् थिए होलान् । किनभने नेपालको भूगोल संसारकै अनुपम छ, सुन्दर छ, अद्वितीय छ र मनोरम छ । तर एउटा राष्ट्रमा जनताहरु पनि बस्छन् । तिनको पिर दूर नभएसम्म राष्ट्र हास्न सक्दैन । हासो विनाको अनुहार राम्रो हुन सक्दैन ।
नेपाली जनताले बाइससाल ताका भोगेका कतिपय पिरहरु अहिले पनि  ज्युँका त्युँ छन् । अनिकाल, अकाल मृत्यू, वेरोजगारी, अशिक्षाले थिचिएको नेपाली समाजको एक प्रतिबिम्बका रुपमा पनि यो गीतलाई लिन सकिन्छ । यी नै समस्याहरुबाट मूक्तिको कामना गर्दै नेपाल आमालाई संसार कै राम्री बनाउने परिकल्पनाले यो गीतको जन्म भएको हो भन्ने कुरामा दुईमत छैन ।
२०२२ सालमा महेश पाल्पालीको आवाजमा भारतमा रेकर्ड गरिएको यो गीत आज पनि नेपालीहरुले सुन्ने गर्छन । यो गीतका श्रोता आज पनि छन् । कालजयी गीतका रुपमा नेपाली मन मस्तिष्कमा रहेको यो गीत एक यूगिन गीत हो । जसले एक यूगको प्रतिनिधत्व गर्छ ।
कुनै पनि समाजमा अभावले अपराध जन्माउ“छ । महेश पाल्पालीले रेडियो नेपालमा यो गीत रेकर्ड गराएको समय यता मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन भए । ती परिवर्तनले नागरिकलाई अधिकार सम्पन्न पनि बनायो । तर दुखको कुरा त्यो अधिकारको स्वाद सिमित वर्गले चाख्दै गयो । आम नागरिकका लागि त्यो बेकार भयो । फलतः महेश पाल्पालीको कल्पना आजसम्म पनि कल्पना मै सिमित रहन पुग्यो ।
श्रष्टाले उन्नतीको पथमा लम्केर प्रगतिको बीउ छरौंला र कुनै दिन नेपाल आमा संसारकै राम्री हुनेछिन भन्ने अपेक्षा गरेका थिए । तर ती सपना अझै साकार हुन सकेनन् । आज दुःख सहेर भएपनि भोलिको भविष्य उज्ज्वल बनाउने लालसा गीतमा देखिन्छ ।
महेश पाल्पालीले देखेका सपना आम नेपालीले पनि नदेखेका भने होइनन् । नेपाल आमालाई राम्री बनाउने सोच आम नेपालीमा पनि थियो । हाम्रा नेताहरुले कुनै समयमा भनिदीए राज्य व्यवस्थाले नेपाल आमा कुरुप छिन् । जनताले राज्य व्यवस्था पल्टाइदीए । संरचना बदलीदिए । पुरानालाई हटाएर नयालाई नया व्यवस्थाको हर्ताकर्ता बनाई दिए । तर नेपाल आमाको अनुहार बदलिएन । फेरि हाम्रा नेताहरुले भने परापूर्वकालदेखिको सामन्ती संस्थाले आमाको अनुहार कुरुप भयो । जनताले त्यो संस्था पनि हटाइदीए । नेताहरुले भनेजस्तै व्यवस्था र वागडोर फेरि पनि नेतालाई दिए । तर अहिले पनि नेपाल आमाको अनुहार कुरुप नै छ । नेपाल आमालाई संसार कै राम्री बनाउने सपना अझै पुरा भएन ।
यसरी आफ्नो सिर्जनाबाट नेपाल आमालाई सुन्दर बनाउने सपना देख्ने महेश पाल्पालीको श्रृजनालाई न त कसैले बुझ्यो न उनको आजको अवस्थालाई ।
२०२२ सालमा पहिलो पटक कलकत्तामा रेर्कड गराएको यो गीतका गायक भने आफै अलपत्र परेर दिन काटी रहेका छन् । आजपनि प्रत्येक नेपालीको मनोभावना उचालेको यो गीतका सर्जकलाई राज्यले बिर्सेको छ ।
अहिले मुखले देशपे्रमी भन्ने गरेकाहरुको राष्ट्रप्रतिको ब्यबहार देख्दा गायक महेश पाल्पाली जिर्ण शरिर लिएर फेरि राष्ट्रगीत गाउने तयारीमा छन् र भन्छन हामीले नेपाल आमालाई चिनेनौं ।
त्यो बेला सयौ बिगाह सम्पतीका मालिक शाह खान्दानका सन्तान दौलत बिक्रम शाह आफ्नो श्रृजना संगै महेश पाल्पालीको रुपमा चिरपरिचत छन् । उनको जिवनशैलि र अबस्थालाई देख्नेहरु शाह खलकको भनेर पत्याउन सक्दैनन् ।
गायक तथा रचनाकारहरु नातीकाजी, नारायण गोपाल, तारादेवीका समकालीन महेश पाल्पाली तत्कालिन राजा महेन्द्रको अनुरोधमा पटक पटक दरवारमा गएर गीत गाए पनि उनले धन कमाउने र लाभ लिने तर्फ भने ध्यान दिएनन् ।
पहिले धनको धनी थिए अहिले मनको धनी छु उनी गर्व गर्छन् । मेरा श्रृजनाले राष्ट्र छोएको छ, जन जिब्रोको गीत बनेको छ मलाई यसैमा आनन्द छ । तर कता कता धन नहुदा साथी भाइको संगत छुटेकोमा भने उनीमा चिन्ता छ ।
बुटवलको सुकूम्वासी बस्ती दिपनगरमा एक छोरा एक बुहारी र ३ नाती नातीनाका साथमा बुढ्यौली उमेर बिताउँदै गरेका पाल्पालीलाई बुटवल नगरपालिकाले दिनेगरेको मासिक १ हजार बृद्ध भत्ताले गर्जो टार्नु पर्ने समस्या छ । कहिले काही रेडियोहरुले दिने रोयल्टी उनको सहारा बनेको छ ।
बिभिन्न थरिका बाजा बजाउन सक्ने महेश पाल्पाली भन्छन् मलाई कुनै दिन धनी बन्ने लोभ लागेन मेरो सम्पती भनेकै गीत संगीत हो । यही गीत संगीत र आफ्ना रचनालाई लिपीबद्ध गर्न सहयोगको खोजीमा भौतारिई रहेका छन् महेश पाल्पाली ।
सुरुसुरुमा बालकृष्ण समका गीतबाट गायन क्षेत्रमा लागेका पाल्पालीले आफैले लेखेका थुप्रै रचनाहरुको पोको बोकेर हिडेपनि आर्थिक अभावका कारण उनका रचनाहरु उनकै झोलीमा थुप्रिएका छन् । गीत संगीत क्षेत्रमा योगदान पु¥याएवापत सयौं संघसंस्था तथा प्रतिष्ठानले प्रदान गरेका यी प्रसंशापत्र तथा सम्मानपत्र नै ५ दशकभन्दा बढि समय संगीत क्षेत्रमा लागेर कमाएका अनमोल सम्पत्ति हुन् ।
रेडियो नेपालमा समेत गीत रेकर्ड गराएका उनले तत्कालीन राजा महेन्द्रका एडिसीले जागीर लगाई दिने आश्वासनलाई समेत वेवास्ता गरी रुपन्देहीमै गीत संगीतमा रमाए । जन्म थलो पाल्पाको लागि केही गर्न नसकेपनि रुपन्देहीको संगीतक्षेत्रलाई केही योगदान गर्न पाएकोमा भने उनलाई गर्व छ ।




No comments:

Post a Comment