Wednesday, September 19, 2012

क्यान्सर

मानव शरीरमा करोडौं स–साना कोषिका हुन्छन । कतिपय कोषहरू दैनिक मर्ने र नयाँ बन्ने गर्दछन । यसरी बन्ने प्रत्येक कोषिकाहरू मानिसको जिनद्वारा नियन्त्रित हुन्छन । तर प्रतिकुल अवस्थामा यिनै कोषिकाहरूको वृद्धि असामान्य हुन पुग्दछ । यस्ता कोषिकाहरू बिस्तारै स–साना गिर्खाहरू(ट्युमर)को रूपमा परिणत हुन्छन ।
यस्ता गिर्खाहरू २ प्रकारका हुन्छन । शरीरलाई हानी गर्ने र नगर्ने । शरीरलाई हानी गर्ने गिर्खाहरू एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।

विभिन्न अनुसन्धानले करिब ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धुम्रपान, सुर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ ।
☼ १० प्रतिशत क्यान्सर शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ ।
☼ विकिरण, औद्योगिक प्रदुषण, भाइरस, परजीवी, सरसफाइको अभाव र शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणको रूपमा लिइएको पाइन्छ ।

क्यान्सर रोगका चरणहरू:
पहिलो चरणः पहिलो चरणमा क्यान्सर रोगलाई पत्ता लगाउन सकियो भने यसको शतप्रतिसत निदान गर्न सकिन्छ ।
दोस्रो चरणः दोस्रो चरणमा पत्तालागेको क्यान्सर पनि निको पार्न त सकिन्छ तर यो धेरै खर्चिलो र लामो  समय लाग्ने हुन्छ ।
तेस्रो चरणः यस चरणको क्यान्सर रोग निको पार्न त सकिदैन तर बिरामीको जीवन अवधी केही लम्ब्याउन सकिन्छ ।
चौथो चरणः यस चरणमा पुगेको क्यान्सर रोग निको पार्न सम्भव हुदैन । पूर्ण रूपमा निको पार्न नसके पनि यस चरणमा पुगेका बिरामीलाई उपचार गरी क्यान्सरका कारण उत्पन्न हुने दुखाइ लगायतका अन्य समस्या न्युनिकरण गर्न सकिन्छ ।

क्यान्सर रोगका लक्षणहरू:
☼ स्वर परिवर्तन हुनु ।
☼ दुब्लाउँदै जानु ।
☼ शरीरमा गाठागुठी वा गिर्खा देखिनु
☼ भोक नलाग्नु
☼ कोठी वा मुसाको आकार र रंग परिवर्तन
☼ थकाई बढी लाग्नु
☼ लामो समयसम्म घाउ निको नहुनु
☼ लगातार खोकी लाग्नु
☼ महिनावारी हुँदा रगत बढी हुनु
☼ अपच वा निल्न गाह्रो हुनु
☼ अत्याधिक रक्तस्राव वा पिप आएमा

रोकथामका उपायहरू:
☼ धुम्रपान त्याग्ने
☼ जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाममा ध्यान दिने
☼ मद्यपान नगर्ने
☼ वातावरण स्वच्छ राख्ने
☼ हेपाटाइटिस बी भ्याक्सिन लगाउने
☼ तयारी खानेकुरा नखाने
☼ पोलको मासु, सुकुटी, सेकुवा नखाने
☼ गुप्ताङ्गको नियमित सफाइ गर्ने
☼ पाठेघरको नियमित जाँच गराउने
☼ धेरै जनासँग यौनसम्पर्क नराख्ने
☼ चिल्लो तथा बोसो कम खाने
☼ ताजा साग सब्जी र फलफुल खाने
☼ बासी वा ढुसी लागेको खाना नखाने
☼ धेरै नुन नखाने




प्राथमिक उपचार

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले  बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचारका सिद्धान्तहरू
☼ सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
☼ भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
☼ सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
☼ यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
☼ घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
☼ घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
☼ घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रुपमा चलाइरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
☼ घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
☼ गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू
☼ घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अंग्रेजीको ब्द्यऋम् लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
☼ A–Airway (श्वासनली)
☼ B–Breathing (श्वासप्रश्वास)
☼ C–Circulation (रक्तसञ्चार)
☼ D–Deformity (चोटपटक)
☼ E–Environment (वातावरण)
☼ घाइतेको अवस्था झन बिग्रन नदिने
☼ घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
☼ तुरुन्त निकोपार्ने
☼  घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने
☼ बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने


प्राथमिक उपचार विधिहरू
☼ अवस्थाको अवलोकन
आँखाले हेर्नेे
–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने
–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने
–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने
छोएर जाँच गर्ने
– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

☼ चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।
☼ आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।
☼ आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ
☼ घाइतेको सुरक्षा गर्नुपर्छ
☼ घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने
☼ घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने ।

Tuesday, September 4, 2012

डिप्रेसन

डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ ।
 डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।

डिप्रेसनका कारणहरू:

☼  वंशाणुगत
☼  जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।
☼  केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।
☼  लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

डिप्रेसनका लक्षणहरू:

☼  मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।
☼  खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
☼  निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।
☼  भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।
☼  टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।
☼  केटाकेटीहरूलाई डिप्रेसन भएमा  खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।
☼  धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

डिप्रेसनको पहिचान गर्ने तरिकाहरू:

☼  सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ

डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू:

☼  चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
☼  जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
☼  सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।
☼  आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
☼  औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
☼  कसरत गरेमा राम्रो महशुस हुन्छ ।
☼  सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।
☼  डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
☼  औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

परिवार र साथीभाइको भूमिका:

☼  आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुने समस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
☼  डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।
☼  उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल र्नुगर्नुहोस र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस ।
☼  उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस ।
☼  बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस ।
☼  चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस ।