Thursday, January 31, 2013

लुनी खण्डकाव्य र देवकोटा


लूनी (खण्डकाव्य)

लूनी महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । १८ खण्डमा लेखिएको यो खण्डकाव्य सुखान्त प्रेमकथामा आधारित खण्डकाव्य हो । साझा प्रकाशन[१]ले विसं २०२५ सालमा प्रथम पटक प्रकाशित गरेको यो खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको सेर्पा समुदायको प्राचिन रहन-सहनलार्इ चित्रित गरिएको छ । यस खण्डकाव्यमा महाकवी मुख्य पात्रालूनीलार्इ केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन सेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेस तथा रितिरिवाजको सजीव चित्रण गरेकाछन् ।
कथा सारांश
महाकवी लक्ष्मीप्रसाद देवकोटाले हेलम्बुको राजा सोङ्गोको दरवार र वरपरको प्राकृतिक वातावरणको वर्णन गर्दै लूनी खण्डकाव्यको उठान गरेका छन् ।
सेर्पा साम्बा सोङ्गोराज्छ दरवार लोङ्गोसेर्पा हेलम्बू ।चाँदी चुली झलझलखोला नाला कलकलसेर्पा झोलुङ्गो ।
लुनीको पहिलो खण्डको सुरूमा हिमाल, हिमनदी, फुलबारी, चराचुरूङ्गी, सगरमाथा र हिमालमा देखिने सुन झैं टल्कने बिहानी किरण अदि प्राकृतिक छटाले सिंगारेको हेलम्बुको लोङ्गो दरवारमा बस्ने सेर्पा राजाको ठाँटबाँट, जीउडाल तथा दैनिक जीवनको चित्रण गरिएको छ । यही खण्डको अन्त्य तिर मुख्य पात्रा लूनीको रूपको बयान गरिएको छ ।
रानीवनमा फुल्ने गुलाफ हँसिली ।वसन्तकी झरी जस्ती रसिली ।।साँझकी बहिनी जस्ती हिमाल दरवारमाफूल फुलेकी जस्ती मानिस घरबारमा ।।
महाकवीले वर्णन गरे अनुसार बैंसालु उमेरमा पुगेकी लूनी अत्यन्तै सुन्दर छिन् । उनी फूलको थुङ्गा झैं हलुका शरीर, गुलाबी गाला, मोती जस्ता दन्तलहर, वनचरीको झैं सुमधुर बोली भएकी लूनी विभिन्न धातुजडित लुगा तथा गहना लगाएर सुखसयलमा हुर्केकी राजकुमारी हुन् । डोलेहरूले बोक्ने सुन बुट्टे पाल्कीमा चडेर वरिपरि सुसारेहरूको बथानसहित हिड्ने, चराको भुवाले बनेको ओछ्यानमा तिलको सिरानी लगाएर सुत्थिन भन्नेकुरा उल्लेख गरेर सेर्पा राजकुमारी लूनीको शाही जीवनशैलीलार्इ महाकवीले अत्यन्तै उत्कृष्टरूपमा उतारेकाछन् । तेस्रो खण्डमा महाकविले मारदौन भन्ने काल्पनिक प्रतियोगितात्मक उत्सवको कल्पना गरेकाछन् जसलार्इ हेर्न राजा, राजकुमारीसहित उक्त भेगका आइमार्इ, बच्चा, ठिटा, बूढा, जवान मैदानमा जम्मा हुने गर्दछन् ।
आज बैशाख पूर्णिमाको मारदौन भन्ने उत्सव छ ।सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ।।स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।आइमार्इ बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ।।
यसरी सबै जम्मा भएर घोडादौड, कुश्ती, तिरवाजी, तरवारवाजी, नृत्य जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना हुन्छ । उक्त प्रतियोगितामा चाङना नामको एक युवक सबैलार्इ उछिन्न सफल हुन्छ ।
सारा सेर्पा जित्ने आज चाङना नामको ठीटो भो ।अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ।।कुश्ती खेल्दा राङजालार्इ धोबीपाटले पछार्यो ।बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्यो ।।
यसरी प्रवेस गराइएको नायक पात्र चाङना उक्त प्रतियोगिता मात्रै हैन राजकुमारी लूनीको दिल जित्न पनि सफल हुन्छ । कम्बल कोट र कट्टु लगाएको कम्मरमा खुकुरी भिरेको बीस वर्षे ठिटोलार्इ विजयको ताज पहिर्याउँदा राजकुमारी लुनी मोहित हुन पुग्छिन् । त्यस दिन देखि राजकुमारी लूनी बिस्तारै चाङनाको यादमा हराउन थाल्छिन्, एकान्तमा बसेर रून थाल्छिन, वासना हराएर खोज्दै हिँडेको कस्तुरी झैं हुन्छिन् । थोरै खाने, थोरै बोल्ने, रातमा धेरै जागा रहने गर्न थाल्छिन् । राजकुमारी लूनीको यस्तो अवस्था नजिकबाट रहेकी जिन्जी नामकी सुसारेले के भएको हो भनी सोध्छिन् ।
आज क्यान लूनी रानी आज क्यान लूनी ?आधा वचन सुन्न छोड्यौ आधा कुरा सुनी ।
त्यस पछि राजकुमारी लूनीले आफूलार्इ चाङना मनपरेको भन्दै उसलार्इ भेटाइदिन अनुरोध गर्छिन् । जिन्जीले अनेक किसिमले सम्झाउँदा पनि राजकुमारी लूनीले नमानेपछि उनी राजकुमारी र चाङनालार्इ भेटाइदिने निर्णय गर्छिन् । यस्तैमा ल्हासाको राजाले राजकुमारी लूनीलार्इ बुहारी बनाउन चाहेको सन्देस हेलम्बुमा पठाउँछ । राजा सोङ्गोले पनि उक्त प्रस्ताव सहर्ष स्वीकार गर्छ । यता विरहमा डुबेर रहेकी राजकुमारी लूनीलार्इ केलिन्दी नदीको तिरमा रहेको बगैंचामा लिएर जान्छिन् जहाँ चाङना लूनीलार्इ सम्झिँदै पूजा गरिरहेको हुन्छ । चाङना लूनीको नाम लिँदै रोइरहेको देखेपछि लूनीले चाङनालार्इ अंकमाल गर्छिन् ।
चाङना लार्इ लूनी छन् लूनी लार्इ चाङना छन् ।व्यर्थ है जिन्जी, जून ! ह्लासामा माग्न्या छन् ।।
केलिन्दी नदीको तिरमा लूनीले चाङनालार्इ भेटेको चाल पाएपछि राजा अत्यन्तै क्रोधित हुन्छ । राजाले लूनीलार्इ चाङनाको टाउको काटिदिने धम्की दिन्छ । उता चाङनालार्इ गुम्बा पस्न बाध्य बनाउँछ । त्यसको केही समयपछि लूनीको विवाह ल्हासाको राजकुमारसँग हुन्छ । राजकुमारी लूनी रूँदै रूँदै सुनको पाल्कीमा राखेर अन्माइन्छिन् । लूनीको विवाह पछि महाकवी उनकै पछिलागेर ल्हासामा पुग्छन् अर्थात दशौं खण्डमा पुगेर उनले ल्हासाको वर्णन गरेकाछन् ।
ह्लासा सारा सुन घर छ।ञुँका पहाड भरभर छ ।पन्ना हाँगा हाँगामा ।हीरा हीरा झर्छन् रे, छरछर छङछङ छागामा ।।
महाकवीले ल्हासामा एउटा भव्य दरवारको कल्पना गरेकाछन् । उनले सिङ डोङ्गारमा रहेको सुनखानी र लुक्याँङको तलाउको समेत वर्णन गरेका छन् । उनका अनुसार ल्हासा दरवार सुन, हिरा, मोती, मुगा, मणी-माणिक्यले धप धप बलेको छ । झलमल दरवारमा जहाँतही विभिन्न किसिमका फूलले सजिएका छन् । जताततै अत्तरको सुगन्ध फैलिएको त्यस्तो महलमा पनि रानी लूनी भने विरहमा वइलाएकी छिन् । हजार नोकरचाकरले भरिएको त्यो महलभन्दा लूनीलार्इ हेलम्बुमा रहेको चाङनाको झुपडी नै प्यारो लाग्छ । सुसारे जिन्जी पनि लूनीसँगै ल्हासामा छिन् । जिन्जीका सामु लूनी आफूले सपनामा चाङना रोएको देखेको भन्दै रून्छिन् । यता चाङना केलन्दी नदीको छेउको कहालिलाग्दो भिरमा रहेको गुफामा लामाहरूको संरक्षणमा छ । उसलार्इ लामाहरूले ठेलीका ठेली पुस्तक अध्ययन गर्न दिन्छन् तर उसले पुस्तकको पानामा समेत लूनीलार्इ देख्छ । अक्षर अक्षरमा सुकुमारी लूनी भएको कल्पना गर्छ । उ सपना विपना सबैमा लूनीमै हराएको छ । उता ल्हासाको राजकुमार ह्लानोले लूनी दिनप्रतिदिन विरहमा हराउँदै गएको चाल पाउँछ ।
के चाहिन्छ तिमीलार्इ ह्मेन्दो वन रानीह्लानो सोध्छ जवाफ दिन्छन् आँखाभर पानी ।।कल्ले बुझ्ने जिन्दगीको भित्री कहानी ?
लूनीको विरहलार्इ नजिकबाट नियालिरहेकी जिन्जी पनि अत्यन्तै दुखी छे । उसले अन्जा नामकी साथीसँग मिलेर एउटा उपाय निकाल्छे । ल्हासामा एकदमै प्रख्यात लामा ह्लुसिंगोलार्इ सबैकुरा बताएर लूनीलार्इ चाङना भएको ठाउँमा पुर्याइदिए मात्र ठीक हुन्छ भन्न लगाउँछन् । लामा ह्लुसिंगो दरवारमा आएर राजा तासी र राजकुमार ह्लानोलार्इ भेट्छ र लूनीलार्इ केलन्दीको तिरमा रहेको गुम्बामा नलगी नहुने कुरा बताउँछ । लामा ह्लुसिंगोको कुरा सुने पछि राजकुमार ह्लानो, लूनी, जिन्जी र अन्जा लावा लस्करसहित हेलम्बुतिर लाग्छन् ।
सेर्पा साम्बा सोङ्गो, भेट्छ ह्लानो होङ्गोजुवाइँ मानले ठूलो, झुकार्इ आफ्नो शिर ।छोरी रानी लूनीजुन झैं आकाशमुनि, वैलिएको फूल ।लूनीको अवस्था देखेर राजा साम्बा र रानी हेलम्बा दुवै दुखी हुन्छन् । लूनीमा साँच्चै धेरै परिवर्तन आएको छ, पहेँलिएको पात झैं, मुटुमा काँडा बिझे झैं, भाँचिएको मुना झैं । रानी हेलम्बाले अत्यन्तै माया गरेर छोरीलार्इ मुसार्छिन र के भयो भनी सोध्छिन् जवाफमा लूनी आसुमात्र झार्छिन् । रानी हेलम्बा लूनीको इच्छाविपरित विवाह गरिदिएकोमा पश्चाताप गर्छिन् ।
सबैकुरा सुनेपछि राजा साम्बा, लूनी र ह्लानोलार्इ लिएर केलन्दीको तिरमा रहेको गुम्बामा पुग्छ । त्यहाँ चाङना लामा ह्मे ह्मेसँग ध्यानमा बसेको हुन्छ । चाङनालार्इ देख्नासाथ लूनी गएर छोप्दै अंकमाल गर्छिन् । तब लामा ह्मे ह्मेको पनि ध्यान भंग हुन्छ । उसले अन्तर्दृष्टिबाट सबैकुरा चाल पाइसकेको हुन्छ । लूनीको चाला देखेर ह्लानो अचम्ममा पर्दछ । चाङना पनि बरबर आँसु झार्दै लूनीको अंगालोमा बाँधिन्छ । राजा साम्बाको पनि आँखा खुल्छ । त्यसपछि लामा ह्मे ह्मेले एउटा फैसला सुनाउँछ ।
बुद्ध भगवान भन्नुहुन्छ लूनी चाङनाकी ।ह्लानो पस्ला केलिन गुम्बा,चाङना राख्ला यशको खम्बा,अर्कैलार्इ वर्ने दिलकीह्लानोको बुद्धि भूलकी भर्इलूनी माग्नाको ।।
त्यसपछि राजकुमार ह्लानो गुम्बा पस्यो, चाङना र लूनी एक भए र चारै तिर खुसियाली छायो । 

Tuesday, October 30, 2012

प्रजनन स्वास्थ्य

कायरो सम्मेलन १९९४ र विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो।

प्रजनन सस्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अंगहरुको स्वास्थ्य, प्रजनन र यौनसम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँदछ । यस अन्तर्गत व्यक्तिहरुले ससुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् ।

प्रजनन स्वास्थ्यका तत्वहरु:
१.परिवार नियोजन
२.सुरक्षित मातृत्व
३.नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार
४.गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार
५. यौन रोग संक्रमण र एचआईभी र एड्स
६.बाझोपनको रोकथाम तथा उपचार
७.किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्य
८.प्रौढ महिलाहरुको स्वास्थ्य
९.लैगिंकतामा आधारित हिंसा

प्रजनन स्वास्थ्यमा पर्ने सेवाहरु:
कुनै पनि जोडी वा दम्पतीले आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको निर्वाध छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन स्वास्थ्यभित्र पर्दछ । यसका साथै गर्भवती अवस्थामा कम्तीमा चार पटक भु्रणको जाच, कानुनी मापदण्ड अनुसारको गर्भपतन सेवा, वैज्ञानिक प्रसूति सेवा, संक्रमित आमाबाट गर्भमा रहेको शिशुमा एचआईभी सर्न रोक्ने विधि सेवा, मातृशिशु खोप एवं उपचार सेवा, सुत्केरीपछिको स्याहार र उपचार जस्ता सेवाहरुलाई प्रजनन् स्वास्थ्यले समेटेको हुन्छ ।

यौन तथा प्रजनन स्वास्थ्यले समेट्ने विषयहरु:यौन तथा प्रजनन् स्वास्थ्य भ्रुण अवस्थादेखि मानिस नमरुन्जेलसम्म सम्बन्धित छ । जसले गर्दा यो प्रकृया मानव विकासकै कोशेढुंगा मानिएको हो। विभिन्न अध्ययनले देखाए अनुसार वयस्क व्यक्तिबीच सम्पर्क भए  मात्र भ्रुण  स्वस्थ रहन्छ र सरल ढंगबाट स्वस्थ शिशु जन्मन्छ । युवा तथा किशोर अवस्थामा सुरक्षित र जिम्मेवारपूर्ण यौन व्यवहार नअपनाए विभिन्न समस्या झेल्नुपर्छ । जसबाट अनिच्छुक गर्भधारण, आफै  गर्भपतन, पाठेघर खस्ने समस्या जस्ता शारीरिक कठिनाईहरु आउछन्।
यौन तथा प्रजनन स्वास्थ्यले केवल शारीरिक सम्बन्ध वा बच्चाको जन्मसंग मात्र सम्बन्ध राख्दैन । यसले परिवार नियोजन, पाठेघर र प्रजननदार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरुको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता बृहत विषयहरु समेट्दछ ।
यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार त्यतिखेर सुनिश्चित भएको मानिन्छ, जतिखेर कुनै पनि व्यक्तिमाथि उल्लेखित सवाल बारे पूर्ण एवं सहि जानकारी हुन्छ र समस्याहरुको उचित निदान पाएर सम्मानपूर्ण जीवनयापन गर्न सक्दछ ।(कार्य योजना,कायरो सम्मेलन १९९४)

Monday, October 15, 2012

घटस्थापनाको साइत

आज आश्विन शुल्क प्रदिपदा अर्थात हिन्दुहरूको महान् चाड बडादसैँ आजदेखि सुरु हुदैछ । आज देखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका बडा दसै मनाउने गरिन्छ ।   बडादसको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज घटस्थापनाको साइत ११ बजे ७ मिनेट जादा उत्तम रहेको छ । सो समयमा काठमाडौंको विशेशगरि दसैंघरमा घटस्थापना गरेर जमरा राख्ने गरिन्छ । सोही समयमा घरघरमा घटस्थापना गरेर दसैंको विधिवत सुभारम्भ गर्ने प्रचलन छ ।  पन्चाङ निर्णायक समितिका अनुसार कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट जादा देवी विसर्जन र बिहान ११ बजेर २९ मिनेट जादा टीका लगाउनका लागि शुभ साइत रहेको छ ।
  यसैगरी कात्तिक ५ फूलपातीका दिन बिहान ०९ बजेर ११ मिनेट जादा  तुलजाभवानीको यात्रा तथा ०९ बजेर ५१ मिनेटमा थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११बजेर ४३ मिनेट जादा तुलजाभवानीको यात्रा तथा १२ बजेर ३९ मिनेट जादा थिराशनका लागि साइत जुरेको छ ।
  आज विजयादशमीक पहिलो दिन शुद्ध माटो तथा बालुवा प्रयोग गरे जमरा राख्ने प्रचलन छ । आज राखेको जमरा दसैंको दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिकका रुपमा पहँलो जमरा प्रयोग गर्ने गरिन्छ ।   असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
 बडादसैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।

गर्भपतन

गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ ।

गर्भपतनका कारणहरू
¤ वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ
¤ पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि
¤ पाठेघरको संक्रमण जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ ।
¤ कुनै कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ ।
¤ हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ ।
¤ इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ ।

गर्भपतनका प्रकारहरू
इन्ड्युस्ड गर्भपतन
आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाई इन्ड्युस्ड गर्भपतन भनिन्छ । यसलाई अंग्रजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ ।

आपराधिक गर्भपतन
अवैद्यरूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ । यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो । यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ ।

अपरिहार्य गर्भपतन
महिलाको पाठेघरमा भएको भ्रुण परिपक्व नभइ अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।

अपूर्ण गर्भपतन
गर्भवती महिलाको पाठेघरमा रहेको भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ । भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्कने र केही भाग भित्र नै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्यु समेत डर हुन्छ ।

पूर्ण गर्भपतन
भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ । यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ । गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ ।
सेप्टिक गर्भपतन

ह्याबिचुअल एबोर्सन
कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।

मिस्ड एबोर्सन
गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ ।

Wednesday, September 19, 2012

क्यान्सर

मानव शरीरमा करोडौं स–साना कोषिका हुन्छन । कतिपय कोषहरू दैनिक मर्ने र नयाँ बन्ने गर्दछन । यसरी बन्ने प्रत्येक कोषिकाहरू मानिसको जिनद्वारा नियन्त्रित हुन्छन । तर प्रतिकुल अवस्थामा यिनै कोषिकाहरूको वृद्धि असामान्य हुन पुग्दछ । यस्ता कोषिकाहरू बिस्तारै स–साना गिर्खाहरू(ट्युमर)को रूपमा परिणत हुन्छन ।
यस्ता गिर्खाहरू २ प्रकारका हुन्छन । शरीरलाई हानी गर्ने र नगर्ने । शरीरलाई हानी गर्ने गिर्खाहरू एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।

विभिन्न अनुसन्धानले करिब ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धुम्रपान, सुर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ ।
☼ १० प्रतिशत क्यान्सर शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ ।
☼ विकिरण, औद्योगिक प्रदुषण, भाइरस, परजीवी, सरसफाइको अभाव र शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणको रूपमा लिइएको पाइन्छ ।

क्यान्सर रोगका चरणहरू:
पहिलो चरणः पहिलो चरणमा क्यान्सर रोगलाई पत्ता लगाउन सकियो भने यसको शतप्रतिसत निदान गर्न सकिन्छ ।
दोस्रो चरणः दोस्रो चरणमा पत्तालागेको क्यान्सर पनि निको पार्न त सकिन्छ तर यो धेरै खर्चिलो र लामो  समय लाग्ने हुन्छ ।
तेस्रो चरणः यस चरणको क्यान्सर रोग निको पार्न त सकिदैन तर बिरामीको जीवन अवधी केही लम्ब्याउन सकिन्छ ।
चौथो चरणः यस चरणमा पुगेको क्यान्सर रोग निको पार्न सम्भव हुदैन । पूर्ण रूपमा निको पार्न नसके पनि यस चरणमा पुगेका बिरामीलाई उपचार गरी क्यान्सरका कारण उत्पन्न हुने दुखाइ लगायतका अन्य समस्या न्युनिकरण गर्न सकिन्छ ।

क्यान्सर रोगका लक्षणहरू:
☼ स्वर परिवर्तन हुनु ।
☼ दुब्लाउँदै जानु ।
☼ शरीरमा गाठागुठी वा गिर्खा देखिनु
☼ भोक नलाग्नु
☼ कोठी वा मुसाको आकार र रंग परिवर्तन
☼ थकाई बढी लाग्नु
☼ लामो समयसम्म घाउ निको नहुनु
☼ लगातार खोकी लाग्नु
☼ महिनावारी हुँदा रगत बढी हुनु
☼ अपच वा निल्न गाह्रो हुनु
☼ अत्याधिक रक्तस्राव वा पिप आएमा

रोकथामका उपायहरू:
☼ धुम्रपान त्याग्ने
☼ जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाममा ध्यान दिने
☼ मद्यपान नगर्ने
☼ वातावरण स्वच्छ राख्ने
☼ हेपाटाइटिस बी भ्याक्सिन लगाउने
☼ तयारी खानेकुरा नखाने
☼ पोलको मासु, सुकुटी, सेकुवा नखाने
☼ गुप्ताङ्गको नियमित सफाइ गर्ने
☼ पाठेघरको नियमित जाँच गराउने
☼ धेरै जनासँग यौनसम्पर्क नराख्ने
☼ चिल्लो तथा बोसो कम खाने
☼ ताजा साग सब्जी र फलफुल खाने
☼ बासी वा ढुसी लागेको खाना नखाने
☼ धेरै नुन नखाने




प्राथमिक उपचार

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले  बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचारका सिद्धान्तहरू
☼ सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
☼ भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
☼ सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
☼ यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
☼ घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
☼ घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
☼ घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रुपमा चलाइरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
☼ घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
☼ गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू
☼ घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अंग्रेजीको ब्द्यऋम् लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
☼ A–Airway (श्वासनली)
☼ B–Breathing (श्वासप्रश्वास)
☼ C–Circulation (रक्तसञ्चार)
☼ D–Deformity (चोटपटक)
☼ E–Environment (वातावरण)
☼ घाइतेको अवस्था झन बिग्रन नदिने
☼ घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
☼ तुरुन्त निकोपार्ने
☼  घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने
☼ बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने


प्राथमिक उपचार विधिहरू
☼ अवस्थाको अवलोकन
आँखाले हेर्नेे
–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने
–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने
–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने
छोएर जाँच गर्ने
– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

☼ चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।
☼ आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।
☼ आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ
☼ घाइतेको सुरक्षा गर्नुपर्छ
☼ घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने
☼ घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने ।

Tuesday, September 4, 2012

डिप्रेसन

डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ ।
 डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।

डिप्रेसनका कारणहरू:

☼  वंशाणुगत
☼  जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।
☼  केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।
☼  लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

डिप्रेसनका लक्षणहरू:

☼  मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।
☼  खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
☼  निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।
☼  भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।
☼  टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।
☼  केटाकेटीहरूलाई डिप्रेसन भएमा  खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।
☼  धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

डिप्रेसनको पहिचान गर्ने तरिकाहरू:

☼  सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ

डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू:

☼  चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
☼  जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
☼  सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।
☼  आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
☼  औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
☼  कसरत गरेमा राम्रो महशुस हुन्छ ।
☼  सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।
☼  डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
☼  औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

परिवार र साथीभाइको भूमिका:

☼  आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुने समस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
☼  डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।
☼  उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल र्नुगर्नुहोस र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस ।
☼  उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस ।
☼  बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस ।
☼  चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस ।